रसुवा । लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङभित्र फसेको आशंका गरिएका २५ जनाको खोजी तथा उद्धार कार्य आजदेखि पुनः सुरु हुने भएको छ। उद्धारका लागि नेपाली सेनाका १५ जना र कम्पनीका ८ जना प्राविधिक टोली परिचालन गरिएको छ।
मुख्य प्रवेशद्वारबाट उद्धार गर्न कठिन भएपछि पेनस्टक पाइप काटेर म्यानहोलका रूपमा प्रयोग गरी सुरूङभित्र प्रवेश गर्ने तयारी गरिएको छ। आज साँझसम्म करिब १५० मिटरभित्र पुग्ने अवस्था बनाउने लक्ष्य राखिएको छ।
यसअघि सोमबार उद्धार टोली करिब १०० मिटरभित्र पुगे पनि ढुंगा, माटो र ठूला बोल्डरले बाटो अवरुद्ध भएपछि उद्धार रोकिएको थियो। आवश्यक उपकरण हेलिकप्टरमार्फत आयोजनास्थलमा पुर्याउने काम भइरहेको आयोजनाले जनाएको छ।