रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण १३ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३५४ मेगावाट र निर्माणाधीन ३९४ मेगावाट गरी कुल ७४८ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको हो।
क्षतिको यकिन विवरण आइनसके पनि केही आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएको आकलन गरिएको छ। क्षति पुगेका आयोजनाको कुल निर्माण लागत करिब १ खर्ब ४५ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।
क्षति पुगेका आयोजनामा रसुवागढी हाइड्रोपावर, चिलिमे, माथिल्लो मैलुङ ‘ए’, लाङटाङ खोला, रसुवा भोटेकोशी, त्रिशूली ‘बी’, त्रिशूली, माथिल्लो त्रिशूली ‘ए’, मैलुङ खोला, मिडल त्रिशूली गंगा र नुवाकोट सोलारलगायत छन्।
निर्माणाधीन आयोजनाको इन्जिनियरिङ बीमा र सञ्चालनमा रहेका आयोजनाको सम्पत्ति बीमा हुने भएकाले क्षतिको विवरणका आधारमा बीमा दाबी तथा भुक्तानी प्रक्रिया अघि बढ्नेछ। निर्माणाधीन आयोजनाको बीमाको ठूलो हिस्सा पुनर्बीमा कम्पनीमार्फत व्यवस्थापन गरिएको हुन्छ।