भोटेकोशीको बाढी पछि पृथ्वी राजमार्ग लगायतका सडक अवरूद्ध भए पनि हेटौंडादेखि काठमाडौंमा चल्ने सवारीसाधनको आजदेखि नयाँ रूट निर्धारण गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने रूट व्यवस्थापन गरेको छ। दश चक्कासम्मका सवारीसाधन काठमाडौंबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरेको छ।
प्रहरी प्रधान कार्यालयले मौसम र बाटोलगायत यात्रुहरूको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीसाधन अनिवार्य रूपमा साँझ ६ बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिंगन चेकपोष्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताइएको छ।
प्रहरी प्रधान कार्यालयले १४ सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारीसाधन काठमाडौंबाट हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने रूट निर्धारण गरेको छ।
त्यसैगरी, काठमाडौंतर्फ जाँदा भने भीमफेदी–कुलेखानी –सिस्नेरी–दक्षिणकाली हुँदै जाने रूट तय गरेको छ। मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालबाहक सवारीसाधनले उक्त बेलिब्रिज प्रयोग नगरीसँगै रहेको डाईभर्सन हुँदै जाने व्यवस्था गरेको छ।