धादिङ । भदौ १० गते त्रिशूली र भोटेकोशी नदीमा आएको बाढीले सडक तथा पुलमा क्षति पुर्याएपछि धादिङ सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालनका लागि चारवटा वैकल्पिक सडकलाई अस्थायी रुट कायम गरिएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले धादिङबेँशी–सुनौलाबजार–भोर्ले–लस्करे–कोशीखोला–फोर्सेटार–कल्लेरीटार, धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार, परेवाटार–आदमटार–बेलिनटार–मासटार तथा धादिङबेँशी–टारीबेँशी–सल्यानटार–आरुघाट हुँदै गोरखा, आँबुखैरेनी, चितवन र पोखरा जोड्ने सडकलाई अस्थायी रुट बनाएको हो।
यी सडक तत्काल सञ्चालनयोग्य बनाउन सम्बन्धित सरकारी निकायलाई स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारीसमेत दिइएको छ। बाढीका कारण पृथ्वी राजमार्ग जोड्ने सडक तथा पुलमा क्षति भएपछि यातायात सहज बनाउन वैकल्पिक रुट प्रयोग गर्ने निर्णय गरिएको हो।