काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले विपद् आएपछि पुनर्निर्माणमा मात्रै केन्द्रित हुने परम्परागत सोच बदल्नुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले अब विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने आवश्यकता औँल्याएकी हुन्। नदी, हिमाल, हिमनदी र जलवायु परिवर्तनलाई रोक्न नसकिने भए पनि त्यसको सामना गर्न सक्ने नेपाल निर्माण गर्न सकिने उनको भनाइ छ।
गौतमले विपद् र जलवायु उत्थानशीलतालाई छुट्टै विषयका रूपमा मात्र नभई हरेक विकाससम्बन्धी कानुन, नीति, योजना र पूर्वाधार निर्माणको आधारभूत सिद्धान्त बनाउनुपर्ने बताएकी छन्।
पछिल्लो दशकमा नेपालले जुरे पहिरो, २०७२ को भूकम्प, मेलम्ची–इन्द्रावती तथा सुनकोशी–रोशीको बाढी, थामे बाढी र जाजरकोट भूकम्पलगायतका विपद्बाट ठूलो क्षति बेहोरेको स्मरण गर्दै उनले हरेक विपद्पछि शून्यबाट पुनः सुरु गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन्।