काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई गिरीबन्धुका पीडितको बैना फिर्ता गर्न भनेका छन्। आज सामाजिक सञ्जाल मार्फत साहले गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर लिएको पीडितको बैना फिर्ता गर्न आग्रह गरेका हुन्।
बालेनले १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउन समेत भनेका छन्। उनले अध्यक्ष ओलीलाई १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा आफूले बनाउन लागेको फुटपाथ फेरेर सडक बनाउन थालेको आरोप समेत लगाए।
उनले लेखेका छन्, ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउनु होला माननीय केपि ओलीज्यू। झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थमथमाउनुभएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।
यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउन थाल्नु भएछ। अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो। तपाइँको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला हामी साथमा छौं।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला। नत्र कोही साँच्चैको नयाँ लाउला र फाइल पल्टाउला र हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद। '