काठमाडौं। फागुन १ गतेदेखि उठ्न नसकेको फोहोर आजदेखि उठाउन थालिने भएको छ। बुधबार बाटो निर्माणको काम गरिरहेको ठेकेदार कम्पनी र आन्दोलनरत स्थानीयबीच सहमति भएपछि फोहोर उठाउन बाटो खुल्ने भएको हो।
हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठ्न सकेको थिएन। ठेकेदार कम्पनीले बाटो समयमै मर्मत गर्ने लिखित प्रतिबद्धता जनाएको बताइएको छ।
११ दिनदेखि थुप्रिएको फोहोर एकैचोटि भने उठ्ने छैन। बिहीबारदेखि यसअघि नै लोड गरेर राखिएका फोहोरका गाडी पठाइनेछ। ती गाडी सँगसँगै केही ठाउँको फोहोर बिहीबारदेखि नै उठान थालिने जनाएको छ।
२०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयबासीले आन्दोलन गरेकाले फोहोर बिसर्जनमा अवरोध हुँदै आएको छ।