काठमाडौं। स्थानीय व्यवसायीको पहलमा नागदहको सरसफाई सुरु भएको छ। नागदह ढुंगा तथा स्थानीय पर्यटन व्यावसायी र नागदह सुधार समितिको संयोजनमा सरसफाई सुरु भएको हो।
जलकुम्भी झारले दह कुरुप बन्दै गएपछि स्थानीय व्यवसायी सफाई अभियानमा जुटेका हुन्। स्थानीय व्यवसायी नागदह सफाई गरेर आन्तरिक पर्यटकको चहलपहल बढाउने बताउँछन्। लामो समयसम्म नागदहको सफाई हुन नसकेपछी आफुहरुनै सफाइ अभियानमा जुटेको स्थानीय व्यवसायीहरुको भनाई रहेको छ।
व्यवसायीले नागदहको जलकुम्भी चार दिनदेखि निकालिरहेका छन्। दुई जना मजदुरले डुंगाको सहायताले जलकुम्भी झार निकाल्न लगाइएको हो।
नागदहको सरसफाईका लागि बजेट नआएपछि आफूले जिम्मा लिएर सफाई गर्ने व्यवसायीले बताए। नजिकै सिजि हाउजिङले प्लटिङ गर्दा आएको माटोले नागदह पुरिने अवस्थामा पुगेको बताइएको छ। केही समयअघि नागदहमा ढुंगा दुर्घटनापछि यस क्षेत्रमा पर्यटकीय गतिविधिमा कमी आएको छ।