काठमााडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ। हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने अडान राखेका हुन्।
बिहानै फोहोर बोकेका सवारीलाई स्थानीयले बाटोमै रोकेका थिए। आन्दोलनरत स्थानीयले बाटोमा टायर बालेर, ढुंगा काठ र फलामको पाइपले बाटो अवरोध गरी अवरोध गरेका थिए। स्थानीय जनप्रतिनिधि र जनताको सहमति बेगर बन्चरे ल्यान्डफिल साइटमा फोहोर ल्याएको भन्दै लगातार अवरोध गरिरहेका छन्।
सरकारले हरेक दिन करिब ३ सयको संख्यामा प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिरहेको छ। गुठीको नाममा रहेको जग्गा रैकर गर्नुपर्ने करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने, फोहोर व्यवस्थापन गर्न प्रशोधन उद्योग स्थापना गर्नुपर्ने र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न नदिने स्थानीयको अडान रहेको छ।