काठमाण्डौं। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ। मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो।
एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोला–खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो। बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर ५०० मिटरमध्ये १६ किलोमिटर दूरीमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको जानकारी दिए।
एघार मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावियन पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको हो।
करिब डेढ घण्टा लाग्ने गरेकामा हाल ३० मिनेटमा पार गर्न सकिन्छ। सडक कालोपत्र भएपछि एक घण्टा यात्राअवधि छोटिएको छ।
गलेश्वरमा एक किलोमिटर र बेगखोलाबाट भुरुङ्ग–तातोपानी खण्डको सडकको अधिकांश ठाउँमा विस्तार सकेर कालोपत्रको तयारी गरिएको छ।
विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ।
हालसम्म मुस्ताङको छवटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी छ। एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छवटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका बताईएको छ।