दार्चुला। दार्चुलामा नेपाल–भारत जोड्ने गरी महाकाली नदीमाथि दुईवटा झोलंगे पुल निर्माण गरिएको छ। तुइन विस्थापनअन्तर्गत ती नदीमाथि पुल निर्माण गरिएको हो ।
व्याँस गाउँपालिका–६ बडुगाउँ र मालिकार्जुन गाउँपालिका–६ बाँकुमा झोलुंगे पुल निर्माण भएको हो । पुल बनेसँगै अहिले स्थानीयवासी खुसी भएका छन् ।
पुल बनेसँगै महाकाली नदीमा जोखिम मोलेर नदी आउजाउ गर्नुपर्ने अवस्था अन्त्य भएको छ । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले अहिले जिल्लाको महाकाली नदीमाथि चार झोलुंगे पुल निर्माण गरिरहेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्ला अधिकारी आशिष चौहानले बिहीबार मालिकार्जुन–६ बाँकु स्थित पुलको शुभारम्भ गरे भने व्याँस –६ बडुगाउँस्थित झोलुङ्गे पुलको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले शुभारम्भ गरेका थिए।
पुल निर्माणपछि दुवै ठाउँका स्थानीयवासी खुसी देखिएका हुन् । वर्षौँदेखि तुइनको सहारामा महाकाली नदी वारपार गर्दै आएका स्थानीय बिहीबारदेखि तुइनको ठाउँमा झोलुङगे पुल सञ्चालन भएपछि खुसी देखिएका छन् ।
यसअघि यस स्थानमा मानिस सदरमुकाम जान भारतको तिगरम भएर जाँदा अढाइ घण्टा बढी समय लाग्ने गरेको थियो । अहिले बडुगाउँमा झोलुङ्गे पुल निर्माण भएपछि आधा घण्टामा सदरमुकाम खलङ्गा आउजाउ गर्न सहज भएको छ ।