काठमाडौं। ताप्लेजुङको ढुङ्गेसाँघुस्थित दोभान–तिरतिरे–तेल्लाबुङ सडक खण्ड कोसी कोरिडोरले स्तरोन्नति गरिदिने भएको छ। निर्माणाधीन कोसी कोरिडोरको सव स्टेसनले प्रभाव पार्ने उक्त सडक खण्डको स्तरोन्नति कोसी कोरिडोर आयोजनाले गरी दिनेभएको हो।
मैवाखोला गाउँपालिका–१, ढुङ्गे साँघुमा हाल नेपाल विद्युत् प्राधिकरणले कोसी कोरिडोर आयोजनाको २२० केभी प्रसारण लाइनको सव स्टेसन निर्माण हुँदै आएको छ। सव स्टेसन आयोजना प्रभावित क्षेत्र दोभान–तिरतिरे–तेल्लाबुङ हुँदै वनपाला क्षेत्रसम्मको सडक खण्ड स्तरोन्नति कोरिडोरले गर्नेभएको हो।
सव स्टेसन निर्माणका सामग्री ढुवानी गर्दा प्रयोग हुने उक्त सडक खण्ड स्तरोन्नति गर्ने सहमतिभएको मैवाखोला गाउँपालिकाले जनाएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने उक्त सडक खण्ड स्तरोन्नतिका लागि आयोजना र मैवाखोला गाउँपालिकाले संयुक्त पहलमा लागत अनुमान (स्टिमेट) तयार गरी पेस गर्ने उल्लेख गरिएको छ।
हिउँदभर सञ्चालनमा आई हाल बन्दभएको मदन भण्डारी मार्गलाई वर्षा मौसममा पनि नियमित सञ्चालन गर्ने गरी मैवाखोला गाउँपालिकाले पहल सुरु गरेको छ।