दैलेख। दैलेखमा १२ वटा झोलुंगे पुल निर्माण गर्नका लागि ४८ जनालाई तालिम प्रदान गरिएको छ। पूर्वाधार विकास कार्यालयको आयोजनामा जिल्लाका नौ गाउँपालिकाका ४८ युवालाई झोलुंगे पुल निर्माणसम्बन्धी तालिम प्रदान गरिएको हो ।
प्रदेश सरकारको आर्थिक सहयोगमा उपभोक्ता समितिका पदाधिकारी २४ र मिस्त्री २४ गरी ४८ जनालाई नमूना झोलुंगे पुल निर्माण तालिम दिइएको कार्यालयका निमिक्त प्रमुख प्रभाकरप्रसाद सिंहले जानकारी दिए।
उनका अनुसार ग्रामीण विकास सेवा केन्द्रको साझेदारीमा प्राविधिक सहयोगी संस्था हुरन्डेक इन ज्वाइन्ट भेन्चर विथ सेवक जेभी नेपाल र टिबीयसयूरहेल्भेटासको सहयोगमा उक्त कार्यालयबाट जिल्लामा १२ झोलुंगे पुल निर्माण हुँदै छ।
आर्थिक वर्ष २०७९/८० भित्र निर्माण गरिसक्नुपर्ने झोलुंगे पुलका लागि आठ दिने तालिम प्रदान गरिएको हो । निर्माण हुनलागेका जिल्लाका ती पुलका लागि १२ वटै उपभोक्ता समिति गठन भइसकेको छ । सोही उपभोक्ता समितिका पदाधिकारी दुई/दुईजना तथा प्रत्येक पुल निर्माण आयोजनाका दुई/दुई मिस्त्री गरी ४८ जनालाई तालिम प्रदान गरिएको हो ।