काठमाडौं। सिन्धुपाल्चोकको तेम्बाथाङमा बाढीले काठको फड्के बगाएपछि आवतजावत बन्द भएको छ। हप्ता दिनको श्रमदानबाट खोलामा हालिएको काठको फड्के बगाएपछि आवतजावत बन्द भएको हो।
सिन्धुपाल्चोकको तेम्बाथाङलाई हाम्रो देशको दोस्रो कर्णाली भनिन्छ। चट्टाने पहरो र घनाजंगलको बीचमा कोरेको गोरेटो बाटोबाट मुस्किलले नेशम खोला पुग्ने स्थानीयहरु झोलुंगेपुलबाट पारि तर्थे। तर, पोहोर सालको बाढीले झोलुंगेपुल बगायो।
स्थानीयको मिहिनेतले तुइन जडान गरिएको थियो। त्यो पनि लठ्ठा चुँडिएर काम नलाग्ने भयो। त्यसपछि हप्ता दिनको श्रमदानबाट खोलामा काठको फड्के हाले। निरन्तरको वर्षाले खोलामा पानीको सतह बढेर फड्के पुरेको छ। लग्याप जंगलको गोरेटो बाटो पहिरोले पुर्यो। नेशम खोलामा हालेको काठको फड्केलाई बाढीले छोप्यो। केही दिनयता तेम्बाथाङका तन्नेरी पनि खोला तर्दा हुनसक्ने जोखिमले वारि आएका छैनन्। अहिले तेम्बाथाङ–गुम्बाथाङ आवतजावत बन्द छ। भर्खरै निर्वाचित जुगल गाउँपालिका–३ की वडासदस्य मिङ्मा शेर्पा नेशम खोलाको डरले बैठकमा आउन सकेकी छैनन्।
दिनदिनै वर्षात् बढेको छ। नेशम खोला उर्लेर आएकोले तेम्बाथाङका कोही मानिस गुम्बाथाङ आउनसकेका छैनन्। यो वर्ष वर्षा छिट्टै सुरु भएकोले खाद्यान्न र अत्यावश्यक घरायसी सामग्री लान सकिएको छैन। सरकारले सहयोग गरेन भने यो वर्ष आलुको भरमा तीन महिना बिताउनुपर्ने अवस्था रहने स्थानीयले गुनासो पोखे। नेशम खोला तर्दा गत साल दुईजना मानिस बगायो।