काठमाडौं। रौतहटको सदरमुकामा गौरको बरहवा तालस्थित एक पुल नै चोरीको अभ्यास भएको छ। आइतबार राति झोलुंगे पुलको एउटा फ्रेम नै चोरी भएको हो।
गौर नगरपालिका ५ बरहवा गाउँलाई गौर बजारसित जोडन बरहवा तालमा बनेको पुलको एउटा फ्रेम नै चोरी भएको छ। आइतबार राति फ्रेमको चोरी भएपछि बरहवा गाउँका बासिन्दालाई झोलुंगे पुल भएर ओहोरदोहोर गर्न समस्या भएको छ। बालकालिका पुलबाट सोझै तालमा खस्ने खतरा बढेको छ।
बहरवाका केही स्थानीयबासीले पुलको मरम्मतका लागि नगर प्रमुख शम्भु साहलाई भेटेर निरीक्षण गर्न अनुरोध गरेका थिए। आइतबार नै पुलको निरीक्षण पश्चात मरम्मतको लागि प्राविधिक फाँटलाई निर्देशन दिइएको पुलको एउटा फ्रेम नै चोरी भएको छ। नगर प्रमुख साहले चोर र चोरी भएको सामानलाई पत्ता लगाउन सबैलाई आग्रह गरेका छन्।
साथै सम्भव भएसम्म छिटो पुललाई सञ्चालनको व्यवस्था गर्न नगरपालिकाले पहल थालिसकेको पनि बताईएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटलाई पनि चोरीको घटनाको विषयमा गम्भीर भएर अनुसन्धान गर्न आग्रह गरिएको बताईएको छ।
तत्कालीन जिल्ला विकास समिति रौतहटले बनाएको पुल चालू अवस्थामा नै रहेको थियो। आइतबार निरीक्षण गर्दा पुलको नौ वटा नट–बोल्ट मात्र फेर्नुपर्ने देखिएको छ।