काठमाडौं। बाँकेको खजुरा गाउँपालिकाले ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ। गाउँपालिकाले पाँच वर्षको समय अवधिमा ४२ किलोमिटर सडक निर्माण गरेको हो।
सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना महामारीका कारण लक्ष्य भेटाउन कठिनाइ भएको छ। “स्थानीय सरकारसँग जनताको पहिलो अपेक्षा हिलाम्मे र धुलाम्मे हुने बाटाको स्तरोन्नति थियो।
यसलाई बुझेर गाउँपालिकाले हरेक वर्ष १६ किमी सडक निर्माण र स्तरोन्नति गर्ने लक्ष्य निर्धारण गरेको छ। सडक निर्माणलाई गाउँपालिकाको गौरवकै योजनाका रुपमा अघि बढाएको खजुराले लिएको लक्ष्य भेट्टाउन कोरोना महामारीले अवरोध सिर्जना गरे पनि गाउँपालिकाले पाँच वर्षमा ४२ किलोमिटर सडक पिच गरिसकेको छ भने अझै आठ किमी सडक निर्माण गर्ने योजना चलिरहेका छन्।
गाउँपालिकाका ग्रामीण बस्तीभित्रका सडक पनि कालोपत्रे, पीसीसी र ग्राभेल गरिएका छन्। गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गरिएको छ। निर्वाचित जनप्रतिनिधि आइसकेपछि पूर्वाधारका क्षेत्रमा अत्यधिक काम भएको गाउँपालिकाले जनाएको छ।