काठमाडौं। काठमाडौं महानगरपालिकाको लामो समयसम्म उठ्न नसकेको फोहोर उठ्ने भएको छ। सोमबार भएको जनप्रतिनिधिहरुको छलफलले मंगलबार (आज) बाट काठमाडौं महानगरभित्र थुप्रिएको फोहोर उठाउने सहमति भएको हो।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा बसेको जनप्रतिनिधिहरु बीचको बैठकले फोहोर व्यवस्थापन गर्ने सहमति जुटाएको हो। स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए पछि आज ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको जनाइएको छ। बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल तथा ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता थियो।
सहमति पत्रमा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धता जनाइएका छन्। सहमतिअनुसार महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्ने, उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न प्रतिवद्धता जनाएको छ। सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोलनरत पक्षले फोहर बिसर्जन गर्न दिने भएको हो।

