काठमाडौं। बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको छ। स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको हो।
महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले स्थानीयले आज पनि फोहोर फाल्न रोकेको बताए। ‘अगाडि अवरोध छ, गाडीहरु रोकिराख्या छन्,’ श्रेष्ठले भने, ‘कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ।’
स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए। त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए।
गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन। सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्नुका साथै महामारीको जोखिम पनि बढेको छ। फोहोरका कारण मानव जिवन नै समस्यमा मा पर्दै गएको छ।