काठमाडौं। विश्वव्यापी सफाइ अभियानअन्तर्गत काठमाडौँको सुन्दरीजलदेखि गोकर्णसम्मको वाग्मती नदी किनारको दायाँबायाँ सफाइ गरिएको छ। विलभयु फाउन्डेसनले आयोजनामा भएको सफाइ अभियानमा सरसफाई भएको हो।
विलभयु फाउन्डेसनले आयोजनामा भएको सफाइ अभियानमा वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जनप्रतिनिधिले शासक नभई सेवक हौं भन्ने भावनाका साथ काम गर्नुपर्ने बताए।
वातावरण संरक्षणका लागि हरित अभियान सञ्चालन गर्न, सफाइ अभियानलाई निरन्तरता दिन र प्रत्येक व्यक्तिले वर्षको कम्तीमा दुईवटा रुख रोप्नुपर्नेमा उनले जोड दिए। गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले घरबाट निस्कने फोहोरको व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा नगरपालिकाले प्रत्येक परिवारलाई कुहिने र नकुहिने फोहोर सङ्कलनका लागि भाँडा उपलब्ध गराउने तयारी गरिएको जानकारी दिए।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले स्थानीय तहको फोहर स्थानीय सरकारले नै व्यवस्थापन गर्नुपर्ने भन्दै फोहोरलाई मोहोर बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए। फाउण्डेसनका अध्यक्ष शोभाकर घिमिरेले वातावरण संरक्षणका लागि सरसफाइ र वृक्षारोपणका साथै मानवीय र विपद् व्यवस्थापनमा संस्थाले सहयोग गर्दै आएको बताए।