काठमाडौं। पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बसेको छ। बैठकले हाल सञ्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा–३३ भरत पोखरीमा सार्ने निर्णय गरेको छ।
हालको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ। त्यसकै आधारमा कार्यपालिका बैठकले पहिलो निर्णय गरेर भरत पोखरीमा सार्ने र आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने जनाएको हो।
बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने र त्यसअघि बैंक, होटल, रेस्टुरेन्ट र विभिन्न संघसंस्थाका शौचालयमा सर्वसाधारणले प्रयोग गर्ने गरी समन्वय मिलाउने निर्णय गरेको छ । त्यसका लागि दुई पक्षबीच सम्झौता गरिने मेयर धनराज आचार्यले जानकारी दिए ।