काठमाण्डौं। पोखरा महानगरपालिकाले तल्काल ल्याण्डफिल्ड साइड सार्न पूर्वाधार निर्माण गर्ने भएको छ। महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको हो।
ल्याण्डफिल्ड साइड सार्न पोखरा महानगरपालिकाले तत्काल पूर्वाधार बनाउने अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन हुन नसकेर समस्याको रुपमा रहेको ल्याण्डफिल्ड साइटलाई महानगरले प्राथमिकतमा राखेर सो निर्णय गरेको पोखरा महानगरले जनाएको छ।
बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने र यसरी निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न सङ्घ सस्था र रेष्टुराँका शौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न दुईपक्षीय सम्झौता गर्ने निर्णय भएको छ।
यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालीन सेवा सञ्चानमा ल्याउने भएको छ। सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको छ।
बैठकले छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान चलाएर व्यवहारिक रुपमा आपत्कालीन सेवा तत्काल गर्ने निर्णय भएको छ। पोखराका खाल्डाखुल्डी पुर्नसमेत तत्काल जनशक्ति परिचालन गरिने भएको छ।