काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी साउन १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर अलग्गै संकलनका लागि तालिका सार्वजनिक गरेको छ।
कामपाले एक सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोर अलग अलग दिन संकलन गर्ने जानकारी दिएको हो। महानगरले कुहिने फोहर आइतबार र बुधबार संकलन गर्ने तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ।
तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने छ । कामपाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई जानकारी गराएको थियो।
पटक पटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति रु ५०० जरिवाना समेत गर्ने जनाइएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ । पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा पटक पटक समस्या आएपछि फोहर व्यवस्थापनमा सहजताका लागि कामपाले यस किसिमको अभ्यास सुरु गर्न लागेको हो ।