पहिला बाटो बनाउने अनि ढल, पानी लगायत अन्य पूर्वधार खोजीनिती र व्यवस्था गर्ने प्रथा सायद नेपालको मात्र हुनुपर्छ । बजेट व्यस्थापन गर्न असारमा छिटो छिटो सडक कालोपत्रे गर्ने र अन्य पूर्वधार बारेपछि सोच्नु झन्झटिलो काम त हो नै त्यस माथि यसले राज्यमा पर्ने आर्थिक भार पनि उतिनै रहन जान्छ । काठमाडौंका अधिकांश सडकहरुमा यस कारणले दुख दिइरहेको छ । उसो त हतारमा गरेको कामको फल पक्कै पनि राम्रो हुने भएन । यसैको पराकास्था गत महिना कपनबाट एक १२ वर्षीय बालक ढलमा बेपत्ता भए । लगातार अलि ठुलै वर्षा दुई दिन मात्रै भयो भने पनि काठमाडौंमा कति वस्ती डुबानमा पर्ने गरेको समय समयमा आउने समाचारमा अवगत नै छ ।
काठमाडौंको धेरै बाटाहरुमा हामीले देखिरहेका हुन्छौ, भर्खरै पिच गरेको चिल्लो रोड पनि फुटाएर पाइप राख्ने कामहरु धमाधम भइरहेको हुन्छ । यसो गर्दा बढी खर्चिलो त हुने नै भयो तर त्यो भन्दा धेरै सास्ती दैनिक जनजीवनमा पर्न जान्छ । जब कुनै समय ढल पानी चाहिन्छ भन्ने थाहा छ भने पिच गर्नु अगावै त्यसको जोहो नगर्नु केवल आर्थिक अनिमियता कायम गर्नु त होइन नि ?
उचित ढल व्यवस्थापन नगर्नाले वर्षेनी धेरै वस्तिहरु डुबानमा पर्ने र कतिपयले ज्यान पनि गुमाउँदै आएका छन् । यस विषयमा सरोकारवालाहरुले खासै ध्यान दिएको भने पाइएको छैन । मनसुन नरोकिएको यस्तो समयमा ढल पानीका लागि खनिएको बाटोले माटो बगाई हिलो बनाउने र काम अवरुद्ध बनाउने गरेको छ । यस्ता पूर्वाधारका विषयमा पनि सरोकारवालाहरु मुकदर्शक भएर बस्नु अशोभनीय बन्न जान्दछ । धेरै ठाउँमा यसरी खनिएका बाटो फेरी नपुरि छोडिने पनि गरेको छ। कति ठाउँमा स्थानिय बासिन्दाको असहमति त कतिपय ठाउँमा बजेट नपुगेको कारण देखाई त्यो सडक पुर्न ढिलासुस्ती गर्ने गरेको देखिन्छ।
तसर्थ पहिला प्रारम्भिक तयारी नगरी बनाइने सडकहरुको कारण बेला बेलामा विभिन्न समस्याहरु उत्पन्न हुने गरेका छन् । यस विषयमा ठेकदार, सरोकारवाला र स्थानीय जनताहरु सबै सुचित र सचेत हुन जरुरी छ। पहिले आधारभुत चिजहरु को व्यवस्थापन गरी निर्माण गर्नाले सर्वसाधनले दुख पनि पाउने थिएनन् र साथै देशलाई आर्थिक भार पनि कम हुने थियो।