काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार पूर्वाधार पुनरुत्थानमा मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्नेछ।
बाढीबाट ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँच सौर्य आयोजना प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानमा मात्रै ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
यस्तै, ६९ किलोमिटर सडक, ३३ मोटरेबल पुल र ५३ झोलुङ्गे पुलमा क्षति पुगेको छ। यातायात पूर्वाधार पुनरुत्थानमा ७३ अर्ब ३४ करोड रुपैयाँ लाग्ने प्रतिवेदनले जनाएको छ।
बाढीबाट पाँच जिल्लाका ७ हजार ५७० निजी घरसहित सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको छ। तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि ८ अर्ब ७३ करोड ५० लाख र दीर्घकालीन पुनर्निर्माणका लागि ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।