काठमाडौं । सरकारले भदौ १० को भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक रु। १५ हजारका दरले राहत दिने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढीबाट क्षतिग्रस्त ७ हजार ५७० निजी घरधुरीलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। चार जनासम्मको परिवारलाई मासिक रु। १५ हजार र चार जनाभन्दा बढी सदस्य भए थप रु। २ हजार दिने निर्णय भएको छ।
सरकारले दसैंअघि नै बाढीपीडितका लागि अस्थायी घर निर्माण गर्ने तयारीसमेत गरेको छ।
संयुक्त प्राविधिक टोलीको द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार बाढीपछिको पुनर्निर्माणका लागि कुल रु। ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख आवश्यक पर्ने अनुमान गरिएको छ। त्यसमध्ये ऊर्जा र ग्रिड प्रणाली पुनरुत्थानमा मात्रै रु। ३ खर्ब ९० अर्बभन्दा बढी खर्च लाग्ने आकलन गरिएको छ।