विराटनगर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ मा पर्ने हुङ्गु खोला पहिरोका कारण थुनिएको छ। शुक्रबार बिहान खसेको करिब ३५ मिटर अग्लो पहिरोले खोला थुन्दा करिब १०० मिटर लामो र १५ मिटर गहिरो कृत्रिम ताल बनेको प्रहरीले जनाएको छ।
सोलुखुम्बुका प्रहरी प्रमुख डीएसपी नविनराजा बुढाथोकीका अनुसार ड्याममाथिबाट विस्तारै पानी बग्न थालेकाले ठूलो जोखिम तत्काल नरहेको भए पनि ड्याम जुनसुकै बेला फुट्न सक्ने जोखिम कायमै छ।
प्रहरीले नदी किनारमा बसोबास गर्ने स्थानीय तथा आसपासका दुई जलविद्युत् आयोजनालाई सतर्क रहन आग्रह गरेको छ। ड्याम फुटेमा यसको असर सोताङ र थुलुङ दुधकोशी हुँदै खोटाङ तथा ओखलढुङ्गाको दुधकोशी नदीसम्म पर्न सक्ने बताइएको छ।