लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा आज सडक ढलान गरिने भएपछि सडक पूर्ण रूपमा बन्द हुने भएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्न लागेको हो।
सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएपछि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द गर्न लागिएको हो।
जिल्ला प्रशासनका अनुसार उक्त अवधिमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन। साँझ ५ बजेदेखि भोलि बिहान १० बजेसम्म भने भारी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रशासनले सडक प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई सोहीअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।