काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनका लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ।
आयोगले ‘मिटर जडान तथा सञ्चालनसम्बन्धी निर्देशिका, २०८३’ र ‘डेभिएसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषयसम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा राय, सुझाव तथा टिप्पणीका लागि सार्वजनिक गरेको हो।
मिटरसम्बन्धी मस्यौदामा मिटरको प्रकार, जडान, स्वामित्व, गुणस्तर तथा तथ्यांक व्यवस्थापनको व्यवस्था प्रस्ताव गरिएको छ। यस्तै, डेभिएसन सेटलमेन्टसम्बन्धी मस्यौदामा स्वीकृत विद्युत् आयात–निर्यात तालिकाभन्दा फरक भएमा हुने विचलनको फर्छ्यौट तथा जरिवाना र प्रोत्साहनको व्यवस्था प्रस्ताव गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार नकारात्मक विचलनमा प्रतियुनिट ४ देखि १६ रुपैयाँसम्म जरिवाना र सकारात्मक विचलनमा प्रतियुनिट ५ देखि २० रुपैयाँसम्म प्रोत्साहन दिने व्यवस्था प्रस्ताव गरिएको छ।
आयोगका अनुसार यी व्यवस्था कार्यान्वयनमा आएपछि प्रसारण तथा वितरण प्रणाली प्रयोग गर्ने अन्य व्यक्ति, संस्था तथा ग्राहकले समेत खुला पहुँचको सुविधा लिन सक्नेछन्।