काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा छलफल भएको छ।
बिहीबार ऊर्जा मन्त्रालयमा भएको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षति, पुनर्निर्माण, पूर्वसूचना प्रणाली र पुनर्वासबारे छलफल भएको हो। मन्त्रालय र आयोगले प्राविधिक विज्ञता तथा नीतिगत नेतृत्वलाई जोडेर एकीकृत पुनरुत्थान योजना बनाउने समझदारी गरेका छन्।
मन्त्रालयले नदी करिडोरको प्राविधिक म्यापिङ तथा विज्ञ समिति गठनको प्रक्रिया अघि बढाएको जनाएको छ। आयोगले क्षति आकलनको कार्यविधि तयार गरी आगामी सातादेखि स्थलगत काम सुरु गर्ने तयारी गरेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत्, सडकलगायत ठूला पूर्वाधारलाई भविष्यका विपद्बाट सुरक्षित बनाउन जलवायु उत्थानशील योजनामा जोड दिइने बताए। उनले स्थानीय समुदायको अर्थपूर्ण सहभागितामा पुनर्स्थापना तथा पुनर्वास अघि बढाउने र अत्याधुनिक पूर्वसूचना प्रणाली स्थापना गर्ने जानकारी दिए।