सुर्खेत । सल्यानको थारमारेदेखि रुकुम पश्चिमको चौरजहारी जोड्ने ४५.५ किलोमिटर सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ।
हालसम्म २६ किलोमिटरभन्दा बढी सडक कालोपत्रे भइसकेको छ भने बाँकी खण्डमा निर्माण जारी छ। कर्णाली प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय सल्यानमार्फत ३२ किलोमिटर र संघीय सरकारअन्तर्गत १३.५ किलोमिटर सडक निर्माण गरिरहेको छ।
सडक कालोपत्रे भएपछि दुई जिल्लाबीचको आवागमन सहज हुनुका साथै स्थानीय कृषि उपज बजारसम्म पुर्याउन, स्वास्थ्य तथा शिक्षा सेवामा पहुँच बढाउन सहज भएको स्थानीयले बताएका छन्। सवारी सञ्चालन खर्चसमेत घटेको उनीहरूको भनाइ छ।
पूर्वाधार विकास कार्यालय सल्यानका अनुसार नाली, पर्खाल, सडक सुरक्षालगायत केही काम बाँकी छन्। चालु आर्थिक वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सडक पूर्ण भएपछि सल्यान–रुकुम आवागमनसँगै व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।