दोलखा। दोलखाको मुढे–मेलुङ सडकखण्डको देउराली–अँधेरीखोला १० किलोमिटर सडक कालोपत्रे हुने भएको छ। ट्र्याक खोलेको २३ वर्षपछि देउराली–अँधेरीखोला १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो।
तत्कालीन जिल्ला विकास समिति हुँदा करिब २३ वर्षअघि उक्त सडकको ट्र्याक खोलिएको थियो।
उक्त १० किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रेका लागि ३१ करोड ५४ लाख रुपैयाँमा सम्झौता भएको छ। सो सडकखण्डको अहिले पाँच किलोमिटरमा काम भइरहेको छ। यो खण्ड सम्पन्न गरेपछि लगातार बाँकी भागमा काम हुने बताइएको छ।
करिब छ महिनाको अवधिमा ६० प्रतिशत काम भइसकेको छ। २०८२ साल वैशाख १५ गते १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रे गरिसक्ने सम्झौता भए पनि अगाडि नै सक्ने गरी काम भइरहेको स्थानीय बताउँछन्।
यो सडक कालोपत्रेको माग गरी स्थानीयले लामो समय पटक पटक विभिन्न किसिमका आन्दोलन गर्दै आएका थिए भने गत निर्वाचनको समयमा सडक कालोपत्रे गरिदिनेलाई मात्र भोट दिने अभियान समेत चलाएका थिए।