मुस्ताङ। खन्ती–जोमसोम सडक कालोपत्र गर्न सुुरु गरिएको छ। थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र सुरु भएको हो।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्डमा आस्कपाल्ट प्रविधिको कालोपत्र गर्नसुरु गरिएको आयोजनाले जनाएको छ।
हालसम्म एकक किलोमिटरभन्दा बढी सडक कालोपत्र भइसकेको छ। निर्माण कम्पनीसँग हाल चार किलोमिटर कालोपत्र गर्न पुग्ने बिटुमिन समेत मौज्दात रहेको बताइएको छ।
विस्तार, नाली र पर्खाल निर्माण सकेर ग्राभेल भएको ठाउँमा ११ मिटर चौडाइका दरले कालोपत्र हुन लागेको हो । यो सडक कालोपत्र गर्न विसं २०७३ असारमा पप्पु–गौरी–पार्वती–कोसी एण्ड न्यौपाने जेभीले रु ९९ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
साझेदार मध्य पप्पु र कोसी एण्ड न्यौपानेका सञ्चालकले काम नगरेपछि एक वर्षदेखि रोकिएको सडक निर्माण गौरी एण्ड पार्वतीले पूर्णता दिन लागेको आयोजनाले जनाएको छ ।