रोल्पा । जिल्लाको सुनिलस्मृति गाउँपालिका–४ छिर्ने र कोइरालखर्क जोड्ने लुङ्ग्री खोलामा पक्की पुल निर्माण भएको छ । दुईवर्ष अघिदेखि शुरु भएको लुङ्ग्री खोलामा निर्माणाधीन पुल सम्पन्न भएको हो ।
सडक पूर्वाधार विकास कार्यालय रोल्पा मार्फत पुल बनेपछि गत १० वर्षदेखि पक्की पुलको माग गर्दै आएको स्थानीयको माग सम्बोधन भएको छ ।
कुल ६ करोड ६३ लाख २९ हजार लागत रहेको पुलको लम्बाई ५२ मिटर र चौडाई ८ मिटर रहेको छ । पुल निर्माणको जिम्मा २०७६ भदौमा एशियाटिक राजविर आँशु जेभीले पाएको थियो । सम्झौता बमोजिम गत भदौमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम २ महिना अघि नै सम्पन्न भएको थियो ।
२०६८ सालमा स्थानीयले आफै रकम संकलन गरी यो सडकको निर्माण शुरु गरेका थिए । सडक निर्माण भएपनि पक्की पुल नहुँदा वर्षौसम्म सास्ती भोग्दै आएका स्थानीयलाई अब भने राहत हुने सुनिलस्मृति गाउँपालिकाका स्थानीयको भनाइ छ ।