काठमाडौं। बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले फोहोर फाल्न नदिने चेतावनी दिएको छ। काठमाडौं उपत्यकाको फोहोर धादिङ र नुवाकोटको सीमानामा पर्ने बञ्चरेडाँडा व्यवस्थापन हुँदै आएको छ ।
ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सरकारले विगतमा सहमति कार्यान्वयन नभएको भन्दै आउँदो जेठ १ गतेबाट फोहोर फाल्न नदिने चेतावनी दिएको हो। सरोकार समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन लेख्दै यस्तो चेतावनी दिएको हो।
नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक, अधिकार हनन गरेको र राज्यशक्ति दुरुपयोग गरी उपत्यकाको समग्र फोहोर विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकाले समितिले घोर विरोध गरेको छ।
प्रभावित क्षेत्रमा मानवस्ती रहित क्षेत्र कायम गर्ने वा फोहोरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्बद्ध पक्षले २०८० वैशाख मसान्तभित्र सरकारको धारणासहित विश्वासयोग्य कार्यान्वयन प्रक्रिया सुरु नगरे फोहोर लैजान पूर्ण रूपमा रोक लगाइने समितिले जनाएको छ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटका कारणले नकारात्मक प्रभाव परेको र बारबार यसबारेमा सम्बन्धित पक्षलाज्ञ ध्यानाकर्षण गराए पनि यस विषयमा जिम्मेवार हुन नसकेको पत्रमा उल्लेख गरिएको छ।