तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थपिएको छ। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्ड मर्मतका लागि थप १९ दिन बन्द गरिने भएको हो।
मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म रातिको समयमा चार घण्टा राजमार्ग बन्द गरिने बताइएको छ। यस क्षेत्रमा भिर कटानको काम अझै बाँकी रहेकाले सूचना जारी गरी समय थप गरिएको हो।
यसअघि फागुन फागुन १८ गतेदेखि २७ गते सम्म पहिलो पटक र २८ देखि चैत १२ गतेसम्म दोस्रो पटक रातिको १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गर्ने सूचना जारी भएको थियो। भीर कटानको काम नसकिएकाले फेरि पनि सडक बन्द गर्ने समय थप गरिएको हो।