काठमाडौं। सांसद अर्जुनरसिंह केसीले बजेट विनियोजन समेत भएको टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद केसीले एकै आर्थिक वर्षमा झण्डै साढे ६ अर्ब बजेट परेको सुरुङमार्गको काम तत्काल अघि बढाउन माग गरेका हुन्।
उनले सो सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रुपमा रहेको भन्दै तत्काल यसको निर्माण अगाडि बढाउन सरकारसँग माग गरेका छन् ।
उनले गत आर्थिक वर्षमा ६ अर्ब ४२ करोड बजेट विनियोजन भएको सुरुङमार्गमा खोस्रने काम सम्म नभएको गुनासो गरे। सांसद केसीले भने, ‘आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ४२ करोड रूपैयाँ जेट विनियोजन भए पनि अहिलेसम्म त्यसमा खोस्रने पनि काम भएको छैन । सरकारले गरेका वचनबद्धता र छुट्याइएको बजेटलाई एकातर्फ राखेर निर्माणको काम भएको छैन । यतातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’