कास्की। तालचोक–बेगनास सडकखण्ड विस्तारका लागि शिलान्यास गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सोमबार एक कार्यक्रमका बीच सडक विस्तारका लागि शिलान्यास गरेका हुन्।
वर्ल्ड बैङ्कले १ अर्व ४९ करोड १५ लाख लगानीमा तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडरसहित चार लेनको बनाइने छ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिने छन्। सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच हुने महानगरले जनाएको छ।
सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी, काठमाडौँले पाएको छ । उसले अनुमानित रकम भन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजारमा ठेक्का पारेको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सडक निर्माणको सम्झौता भएको छ।