काठमाडौं। काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा फेरि समस्या भएको छ । बञ्चरेडाँडा र सिस्डोलका स्थानीयवासीहरुको अवरोधका कारण महानगरको फोहोर व्यवस्थापनमा समस्या हाएको हो ।
आजदेखि फोहोर फाल्न नदिने बताएका स्थानीयहरुले बिहानैदेखि ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयवासीहरुले सडकमा अवरोध गरेका छन् । उनीहरुले सिस्डोल र बन्चरेडाँडाको बीचमा पर्ने आलेटारमा जम्मा भएर अवरोध गरेका हुन् ।
डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको त्यहाँका जनप्रतिनिधिहरुको भनाइ रहेको छ । ककनी गाउँपालिका र धुनीबेसी गाउँपालिकाका फोहोर मैला पीडितका नाममा संगठित भइ सडकमा फोहोर हामीलाई चाहिँदैन, मान्छे मार्न पाईंदैन भन्ने नारा लिखित ब्यानर राखेर स्थानीयले सडक अवरोध गरेका छन् ।
स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक–पटक झुक्याइएको आरोप लगाएका छन् । सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र विसर्जन गर्नेलगायतका सहमति ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो ।
नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार पाँच सय रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराएको थियो ।