सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ। लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको हो।
लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीका अनुसार यसअघि फोहर उठाउने ठेकेदार कम्पनी ‘ग्रिन एण्ड क्लिन सिटी’ सर्भिस प्रालि हेटौँडा, मकवानपुरले नगरपालिकाभित्रका बजारबाट सङ्कलन भएको फोहर उठाएबापत नगरपालिकाबाट वार्षिक एक लाख ५० हजार लिँदै आएको थियो ।
अब गोकर्णेश्वरले सङ्कलन गरेको फोहर नगरपालिकालाई दिने, नगरपालिकाले पुनः गोकर्णेश्वरलाई फोहोर फिर्ता गर्ने र त्यससँगै नगरपालिकालाई रकम दिने विषयमा सम्झौता भएको लालबन्दी नगरपालिकाले जनाएको छ।