काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गराउने भएको छ । पालिकाभित्र रहेका शौचालयलाई नियमित गर्ने, सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडा सचिवहरुसँग भएको छलफलमा सार्वजनिक निजी साझेदारी इकाईका प्रमुख डा. शिवराज अधिकारीले सहयोग सम्बन्धी जानकारी दिए ।
उनले भने, ‘महानगरपालिका क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालयहरुको सूची छ । ती तपाईहरुका वडामा छन् । कुन सार्वजनिक शौचालय कसरी सञ्चालन भएको छ? त्यसलाई नियमित र व्यवस्थित गर्न के गर्नु पर्छ? २०७९ को प्रारम्भमा व्यक्तिगत तथा संस्थागत रुपमा चलेका १२० वटा शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएको छ । तिनीहरु कसरी चलेका छन्र नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक संघ संस्था सम्बन्धी विवरण संकलन गरेर उपलब्ध गराउनु होला ।’
उनले सहरका हरेक ५ सय मिटर दुरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउने महानगरपालिकाको नीति कार्यान्वयन गर्न सबै पक्ष एकै ठाउँमा हुनुपर्ने बताए।