गोरखा। बूढीगण्डकी र रेसे खोलामा फोहोर फाल्न निषेध गरिएको छ। धार्चे गाउँपालिकाको कात्तिक १९ गते बसेको कार्यपालिका बैठकले बूढीगण्डकी र रेसे खोलामा जथाभावी फोहोर फाल्ने कार्यलाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको हो।
बैठकले खोलामा पहिलो पटक फोहोर फाल्नेलाई ५ सय र दोस्रो पटकदेखि दोब्बर गर्दै लैजाने समेत निर्णय गरेको छ। बूढीगण्डकी र रेसे खोलामा जथाभावी फोहरमैला फालेको देखेमा गाउँपालिकाको कार्यालय वा माछीखोला प्रहरी चौकीमा सूचना दिन पनि सर्वसाधारणमा आग्रह गरिएको छ।
गाउँपालिकाको केन्द्र माछाखोलालाई गाउँपालिकाले चालु आर्थिक वर्ष ‘क्लिन र ग्रीन माछाखोला’ अभियान पनि सञ्चालन गरेको छ । उत्त अभियानअन्तर्गत माछीखोला बजार क्षेत्रमा साप्ताहिक रूपमा सरसफाइ गरी फोहोर संकलन गरेर डम्पिङ साइट समेत पहिचान गरी फोहरमैला व्यवस्थापन गर्ने कार्यको सुरु भएको समेत बताइएको छ।
संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेबाट सुरु भएको उक्त अभियानअन्तर्गत प्रत्येक शनिबार सरसफाइ गर्ने गरिएको छ ।