भोजपुर। भोजपुर जिल्लामा पूर्ण सरसफाइको दोस्रो चरणको अभियान सुरु भएको छ । यस वर्षबाट खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले दोस्रो चरणको पूर्ण सरसफाइ अभियान अघि बढाएको हो।
यसअघि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको भए पनि सरसफाइको थप निरन्तरताका लागि अभियान थालनी गरिएको हो । सरसफाइको कार्यक्रमलाई निरन्तरता दिनका लागि स्थानीय तह तथा अन्य सरोकारवाला पक्षलाई पूर्ण सरसरफाइसम्बन्धी तालिम दिइएको छ । कार्यालयले विगतमा भएका कामको निरन्तरतास्वरुप पुनः सरसफाइको कार्यक्रम अघि बढाएको हो ।
खुला दिसामुक्त भएपश्चात जिल्लाको सरसरफाइको अवस्थाबारेमा स्थानीय तहसँगको सहकार्यमा आवश्यक तथ्याङ्क सङ्कलन गरेर सोहीअनुरुप भावी कार्यक्रमलाई अघि बढाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले जनाएको छ । कार्यालयले खानेपानी आयोजना सञ्चालनपूर्व स्थानीयको शौचालयको प्रयोगसँगै सरसफाइको अवस्थाबारे आवश्यक सूचना सङ्कलन गरेको छ।