काठमाडौं। तनहुँको म्याग्दे गाउँपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । दुई करोड लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको हो।
म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गरेका थिए । स्थानीय तहहरुलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको बजार क्षेत्रमा संकलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहोरहरु उक्त संकलन तथा व्यवस्थापन केन्द्रमा जम्मा गरिने जनाइएको छ। २२ रोपनी आठ आना जग्गा खरिद गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । गाउँपलिकाले विसं २०७८ चैत ९ गते स्थानीयवासीसँग ३३ लाखमा जग्गा खरिद गरेको थियो । जग्गा खरिदलगायत गरी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा रु दुई करोड १५ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ।