काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा करिब २ हजार सेट डस्टबिन राख्ने भएको छ । महानगरपालिकाले उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९५० सेट बिन राख्ने भएको हो।
एउटा सेटमा २ वटा बिन हुन्छन् । महानगरपालिकाले कुहिने फोहोरका लागि हरियो र नकुहिने फोहोरका लागि रातो बिन राख्न लागेको हो ।
महानगरपालिकाले सबै ठाउँमा एकैपटक काम गर्दा नतिजा आउन नसक्ने भएकाले नमुनाका लागि वडा नम्बर २७ बाट वर्गीकरण भएको फोहोरमात्र संकलन गर्न थालेको छ।
महानगरले घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेको हो।
यसरी राखिने सेट दुई प्रकारका छन् । पहिलो खाले सेट सानो आकारको हुन्छ । यसमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । १.२ मिटर उचाइ, १.२३ मिटर चौडाइ र २५.५५ किलोग्राम तौलको फलामे स्ट्याण्डमा बिन राखिनेछन् ।