सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्र गर्ने जिम्मा लिएको कम्पनीलाई जरिवाना तिराइएको छ। समयसीमाअनुसार काम सम्पन्न नगर्ने निर्माण कम्पनीसँग आयोजनाले करिब ७० लाख जरिवाना तिराएको हो।
२०८१ असारसम्ममा ३९ किलोमिटर सडक कालोपत्र गरि एक अर्ब २८ करोडमा शर्मा शिवशक्ति जेभीसँग सम्झौता भएको थियो। कालोपत्र गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काममात्रै भएको छ।
ठेक्का सम्झौता गर्दा माइलस्टोनसम्बन्धी व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार ठेक्का सम्झौता १२ महिना अवधिभित्र ३० प्रतिशत ठेक्का सम्झौता रकमबराबरको वित्तीय प्रगति हासिल गर्नुपर्ने प्राबधान रहेको थियो। सम्झौताअनुसार वित्तीय प्रगति नगरेको जनाउँदै उत्तर–दक्षिण कोशी सडक आयोजनाले दिनको दुई लाख ५५ हजार जरिवाना तिराएको हो।