काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले बेलिब्रिज निर्माणको काम तीव्र पारेको छ।
भदौ १० गते चीनतर्फबाट आएको बाढीले पुल बगाएपछि यातायात सम्पर्क पुनःस्थापित गर्न सेनाको ५५ जनाको प्राविधिक टोली परिचालन गरिएको हो। सेनाको ब्रिजिङ युनिटले करिब ६० मिटर लामो र ५० टन भारवहन क्षमता भएको बेलिब्रिज निर्माण गरिरहेको छ।
यस्तै, नेपाली सेनाका इन्जिनियरको परामर्श तथा सक्रियतामा ढुंगे बुद्ध मन्दिरको तल्लो भागदेखि त्रिशूली बजार जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणको कामसमेत सुरु भएको छ।
झोलुङ्गे पुल निर्माण भएपछि बाढीबाट प्रभावित स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।