काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट क्षति पुगेका नेपाल विद्युत् प्राधिकरणका तीन जलविद्युत् आयोजनाको बीमा नै नभएको पाइएको छ।
बीमा नभएका आयोजनामा २४ मेगावाटको त्रिशूली, १४।१ मेगावाटको देवीघाट र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ रहेका छन्।
प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार पुराना आयोजनाको बीमा प्रिमियम महँगो पर्ने भएकाले बीमा हुन नसकेको हो। प्राधिकरणका अधिकांश सबस्टेसन, प्रसारण लाइन र उत्पादन केन्द्रसमेत बीमा नभएको उनले बताए।
पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार बीमा नभएका यी तीन आयोजनामा मात्रै करिब १६ देखि १७ अर्ब रुपैयाँको क्षति भएको छ। उनका अनुसार बीमा गर्ने विषयमा यसअघि पटक–पटक छलफल भए पनि निर्णय हुन सकेन।
श्रेष्ठका अनुसार भोटेकोशी बाढीबाट प्राधिकरणका जलविद्युत् आयोजना तथा प्रणालीमा प्रारम्भिक रूपमा ६० देखि ७० अर्ब रुपैयाँसम्म क्षति भएको अनुमान छ। क्षतिको यकिन विवरणका लागि प्राविधिक मूल्यांकन भइरहेको छ।