रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित रसुवा भोर्ले बागेश्वरी मन्दिरनजिकै खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको छ।
जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत भोर्ले बजारनजिकै बुधबार साँझ करिब ५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडकमा खसेको पहिरो बिहीबार बिहान १० बजे हटाइएपछि करिब १७ घण्टादेखि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
पहिरो हटाउन बिहीबार बिहानैदेखि सडकको दुवैतर्फ डोजर परिचालन गरिएको थियो। लगातारको वर्षाका कारण खसेको पहिरो पन्छाएपछि सडकमा यातायात सुचारु भएको हो।
नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी र धुन्चे जोड्ने मुख्य सडक बाढीपछि अवरुद्ध रहेकाले जिरो–भोर्ले–पार्च्याङ सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।
पहिरोका कारण काठमाडौं र नुवाकोट हुँदै धुन्चे जाने तथा धुन्चेबाट काठमाडौं फर्कने यात्रुहरू बाटोमै रोकिएका थिए। रसुवा पुगेका राहत सामग्री बोकेका सवारीसाधनसमेत पहिरोका कारण रोकिएका थिए। सडक खुलेपछि यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन्।