काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीनको प्रमुख व्यापारिक नाका रसुवागढीमा ठूलो क्षति पुर्याएको छ। बाढीले राजमार्गको ठूलो खण्ड र रसुवागढी भन्सार क्षेत्र बगाएपछि दुई देशबीचको मुख्य स्थलमार्ग विच्छेद भएको छ।
व्यवसायीका अनुसार बाढीले करिब ४ सयदेखि ५ सय मालवाहक तथा खाली कन्टेनर बगाएको छ। दसैँ–तिहार लक्षित गरी आयात गरिएका लत्ताकपडा, जुत्ताचप्पल, कस्मेटिक, इलेक्ट्रोनिक्सलगायत सामान नष्ट हुँदा प्रारम्भिक अनुमानमा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ।
हिमालपार व्यापार संघका अनुसार ७६ जनाभन्दा बढी व्यवसायी प्रत्यक्ष प्रभावित भएका छन्। नाका बन्द भएपछि तातोपानी हुँदै सामान ल्याउनुपर्ने बाध्यता भए पनि ढुवानी भाडा बढेको व्यवसायीहरूको गुनासो छ।
बाढीले चिनियाँ भूभाग तथा ‘नो म्यान्स ल्यान्ड’मा रहेका सामानसमेत बगाएकाले बिमा दाबीमा समेत समस्या देखिएको छ। ठूलो परिमाणमा सामान नष्ट भएपछि दसैँ–तिहारमा बजारमा आपूर्ति घट्ने र लत्ताकपडा, जुत्ता तथा कस्मेटिकलगायत सामानको मूल्य बढ्ने जोखिम बढेको व्यवसायीहरूले बताएका छन्।