काठमाडौँ । भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी आएको भोलिपल्टैदेखि स्रोत, साधन र जनशक्ति परिचालन गरी विद्युत् सेवा पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ।
मंगलबार नुवाकोटको विदुर नगरपालिका–१० र ११ तथा तारकेश्वर–४ मा विद्युत् सेवा पुनःसञ्चालन गरिएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका अनुसार हालसम्म रसुवामा करिब ८३ प्रतिशत र नुवाकोटमा ९५ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ।
विद्युत् सेवा तत्काल पुग्न नसकेका क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सामुदायिक आश्रयस्थलमा २ किलोवाट क्षमताका सोलार प्रणाली तथा आवश्यकताअनुसार घरपरिवारलाई व्यक्तिगत सोलार प्रणाली वितरण गर्ने काम पनि अघि बढाइएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी तथा प्राविधिक टोलीसँगै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कर्मचारी निरन्तर खटिरहेका छन्।